चितवनमा सात जनामा औलो सङ्क्रमण पुष्टि, सबै विदेशबाट फर्किएका

चितवन, ६ असार । चितवन जिल्लामा चालु आर्थिक वर्षमा सात जना व्यक्तिमा औलो (मलेरिया) को सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार, औलोको आशङ्कामा परीक्षण गराएका ७,९८९ जनामध्ये सात जनामा सङ्क्रमण देखिएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार सङ्क्रमित सबै जना वैदेशिक रोजगारीबाट नेपाल फर्किएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा १० जनामा औलोको सङ्क्रमण पाइएको थियो, जसको तुलनामा यो वर्ष सङ्ख्या केही घटेको छ । सङ्क्रमण देखिनेहरू १५ वर्षभन्दा माथिका रहेका छन् ।

‘एनोफिलिज’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लागेपछि बिरामीमा बेला-बेलामा वा दिन बिराएर ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, जाडो लागेर शरीर काम्ने र पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षणहरू देखिने गर्दछन् ।

निरीक्षक केसीले नेपालमा सामान्यतया ‘पी भाइभ्याक्स’ प्रजातिको औलो बढी देखिने गरे पनि विदेशबाट आउनेहरूमा भने खतरनाक मानिने ‘पी फाल्सिपारम’ परजीवीको सङ्क्रमण भेटिने गरेको जानकारी दिनुभयो ।

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय हो । यसका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, सरसफाइमा ध्यान दिने र राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।