सरकार र एनओसी मिलेर गाइडलाइन तयार पार्न सुझाव

काठमाडौँ, ९ असार ।  (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा अहिले देखिएको विवादलाई समाप्त पार्न सरकार र एनओसी मिलेर निर्देशिका तयार पार्न सुझाव दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले ओलम्पिक दिवसको अवसरमा आइतबार ओलम्पिकमा नेपालको सहभागिता विषष्यमा आयोजना गरेको स्पोट्र्स डायलगमा एनओसी अध्यक्षले सो भनाई राखेका हुन् । अध्यक्ष श्रेष्ठले भने– सरकार र ओलम्पिक कमिटी बसेर गाइडलाइन तयार गरौँ । खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी र राष्ट्रिय खेल संघहरुले प्रतिवद्धतासहित आपसी समझदारी (एमओयु) तयार गर्न सक्छौँ । उनले यसो भएमा सबैलाई आफ्नो कर्तव्य र जिम्मेवारी स्पष्ट हुने, विधिभित्र बसेर सबैले काम गर्ने, आग्रह÷पूर्वाग्रह रहेर कसैले कामकारवाही गर्न सक्नेछैन, अध्यक्ष श्रेष्ठले भने ।

गत पुसमा एनओसीको साधारणसभाबाट अध्यक्षमा जीवनराम श्रेष्ठ सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएदेखि नै सरकार र एनओसीबिच दुरी बढेको थियो । युवा तथा खेलकुद मन्त्रालय र राखपले श्रेष्ठले खेलकुद विकास ऐनलाई अटेरी गर्दै एनोसी विधान संशोधन गरेर निर्वाचन गराएको आरोप लगाएको छ । अहिले एनओसीको कार्यालयमा ताला लागेको छ । यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले भने सो निर्वाचनलाई मान्यता दिइसकेको छ । अध्यक्ष श्रेष्ठले भने यो विवाद समाधान गर्न झुक्न तयार रहेको बताएका छन् ।

‘द्वन्द्व भएसम्म खेलकुदको विकास हुन सक्दैन, त्यसैले चाँडै यसको समाधान हुनुपर्छ । नेपाली खेलकुदलाई आशा, भरोसा जगाउने हिसाबले अगाडि बढ्न एनओसी सँधै लचिलो नै छ । नेपाली खेलकुद र खेलाडीको विकास र उत्थानका लागि एनओसी कति झुक्नुपर्ने हो त्यत्ति झुक्न तयार छौ– अध्यक्ष श्रेष्ठले थप्छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले सरकारसँगको द्वन्द्व होइन, असमझदारीको अवस्था हो । जुन असमझदारी २०५३ सालदेखि नै रहेको छ । वर्तमान अवस्थामा ओलम्पिकको मूल्यमान्यता र मापदण्ड नसक्दा यो समस्या आएको हो अध्यक्ष श्रेष्ठको बुझाई छ । उनले मिसन जापानमा सन् २०२६ मा हुने एसियन गेमलाई लक्ष्य राख्ने हो भने त्योसँग सम्बन्धित सबै कुरा व्यवस्थित गर्नुपर्ने जिकिर गरेका छन् । ‘पहिलो खेलको वातावरण तयार गर्नुपर्यो । प्रशिक्षण बसेका खेलाडीलाई भोलि खेल्न पाउने हो कि होइन भन्ने मनस्थितिको अन्त्य हुनुपर्यो । उच्च मनोबल भएको खेलाडीले मात्र पदक जित्न सक्छ । आज त्यो अवस्था छैन’ अध्यक्ष श्रेष्ठको भनाइ छ ।

सो स्पोट्र्स डायलगमा राष्ट्रिय खेल संघको प्रतिनिधित्व गरेका नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले राखेप र ओलम्पिक कमिटीको द्वन्द्वले संघहरु ‘स्यान्डविच’ भइरहेको अवस्था छ, भन्नुभयो । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा अन्तर्राष्ट्रिय खेल कानुन नै मान्नुपर्ने जुन नेपाल ओलम्पिक कमिटीबाट मात्र सम्भव भएको बताए । उनले यो भइरहेको जुँगाको लडाईँ त्याग्नुपर्ने र यो द्वन्द्वले खेल संघ मारमा परेको जिकिर पनि गरे । उनले भने– यसकै प्रतिफल संघहरु विघटन भएका छन् । कति संघमा बजेट कटौती भएको अवस्था छ । जुन पक्कै राम्रो कुरा होइन । उनले आफ्नो संघले राखेपबाट भन्दा ओलम्पिक कमिटीबाट बढी सहयोग र एक्सपोजर पाइरहेको जानकारी दिँदै सबै खेल संघलाई ओलम्पिक र देशको कानूनअनुसार चल्न अनुरोध गरेका छन् ।

यसैगरी धाविका सन्तोषी श्रेष्ठले केही खेलकुद संघबाहेक अन्य संघले आप्mनो दायित्व राम्रोसँग निर्वाह नगरेको अनुभव आफूले गरेको बताइन् । राखेप, ओलम्पिक कमिटीले सबैलाई खेलकुदप्रति माया छ तर यस्ता विवादले खेलकुद पछाडि धकेलिन्छ । उनले ओलम्पियन भनेर चिनिनुभन्दा पनि ओलम्पिक पदकधारी भनेर चिनिनका लागि अनुकूल वातावरणको तयारी गर्नुपर्ने भनाइ राखिन् । उनका अनुसार ओलम्पिक लक्ष्य हो भने सो लक्ष्यसम्म पुग्न सुरु गर्दादेखि अन्तिम लक्ष्यसम्म पुग्ने क्रममा खेलाडीलाई चाहिने प्रेरणा र अनुकूल वातावरण दिन जरुरी छ । ‘यसो भएमा पक्कै ओलम्पिक पदक पनि आउँछ’ सन्तोषी भन्छिन् ।

यसैगरी एनएसजेफका अध्यक्ष निरञ्जन अधिकारीले मञ्चको समन्वयमा सरकार र ओलम्पिक कमिटबिचको विवाद सल्टाउन एनओसीले यस कार्यक्रममा लचिलो भएर अगाडि बढ्न तयार भएको बताएकोमा खुशी व्यक्त गर्दै अब मञ्चले खेलकुद मन्त्रालय र राखेपसँग पनि यस्ता डायलग कार्यक्रम गरी विवाद अन्त्य गर्न पहल गर्ने बताए ।