शिक्षा विधेयकमा ढिलाइहुँदा शिक्षक महासंघद्वारा पुनः आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नभएकोमा गम्भीर आपत्ति जनाउँदै पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासंघले यसअघि राजधानी केन्द्रित २९ दिने लामो सडक आन्दोलन गरेको थियो । सोही आन्दोलनपछि गत वैशाख १७ गते सरकार र महासंघबीच विधेयकलाई असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लगायतका विषयमा सहमति भएको थियो ।

तर, तोकिएको समयसीमा सकिँदा पनि विधेयक संसदमा पेशसमेत नभएपछि महासंघ आक्रोशित बनेको हो । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले गरेको प्रतिबद्धताप्रति विश्वासघात भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “विधेयक अघि बढाउने प्रक्रियामा कुनै पनि किसिमको विलम्ब वा षड्यन्त्र गरिए महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुनेछ ।”

सरकारी उदासीनताका कारण देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूमा गहिरो आशंका र आक्रोश पैदा भएको महासंघले जनाएको छ । विधेयकमा ढिलाइ हुनुले शैक्षिक सुधारप्रतिको सरकारी प्रतिबद्धतामाथि नै प्रश्न उठेको उनीहरूको भनाइ छ ।