एमालेलाई कमजोर बनाउने गरी पक्ष-विपक्षमा धार बनाउने प्रयास हुँदैछ, सचेत बनौं : महासचिव पोखरेल
काठमाडौँ, १८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न विधान महाधिवेशनका लागि केन्द्रित हुन आग्रह गरेका छन्। कोशी र मधेश प्रदेशका इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गत जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई भर्चुअल सम्बोधन गर्दै पोखरेलले पार्टीमा नेतृत्वका सन्दर्भमा पक्ष-विपक्षमा धार सिर्जना गर्ने प्रयास हुन थालेको भन्दै चेतावनी दिएका छन्।
पार्टीलाई कमजोर बनाउने प्रयास हुँदैछ
“जतिबेला जे काम गर्नुपर्ने हो, त्यसैमा केन्द्रित हुनुपर्छ। राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भइनसकेको अवस्थामा पार्टीलाई कमजोर बनाउने गरी चर्चा र टिकाटिप्पणी सुरू भएका छन्। यसतर्फ तपाईंहरू सचेत बन्नुपर्छ,” महासचिव पोखरेलले भनेका छन्।
उनले भने, “यतिबेला पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक छ। नेतृत्वको विषय पनि पार्टीले एकताबद्ध प्रक्रियाबाट टुंगो लगाउँछ। अहिले राष्ट्रिय महाधिवेशन नभएको बेला नेतृत्वका विषयमा चर्चा-परिचर्चा आवश्यक छैन।”
कार्यकर्ता व्यवस्थापनमा जोड
महासचिव पोखरेलले पुराना कार्यकर्ता, पार्टी प्रवेश प्रक्रियाबाट पार्टीमा जोडिएका र जनसंगठनका अधिवेशनपछि कमिटीबाट बाहिरिएका कार्यकर्तालाई व्यवस्थापन गरी भूगोलमा क्रियाशील बनाउने विषयमा प्रदेश तथा जिल्ला कमिटीको ध्यानाकर्षण गराएका छन्।
विधान महाधिवेशनको तयारी
विधान महाधिवेशनमा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदनको तयारीका लागि असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन महासचिवले प्रदेश र जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन्।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०-२२ गते ललितपुरको गोदावरीमा हुने छ। केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदनको जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई र सांगठनिक प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिएको छ।
बैठकमा दुवै प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूले आ-आफ्ना जिल्लाका कामको रिपोर्टिङ गरेका थिए।