रियल म्याड्रिड र डर्टमन्ड क्वाटरफाइनलमा

मियामी, असार १८ गते । रियल म्याड्रिड बुधबार युभेन्टसलाई १–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

गोन्जालो गार्सियाको हेड गोल निर्णायक भएपछि विश्वका दुई ठूला क्लबबिचको भिडन्तमा रियल म्याड्रिडले बाजी मारेको हो । स्टार स्ट्राइकर किलियन एमबापे फिट नहुँदा २१ वर्षीय गार्सियाले चालू प्रतियोगिताका चारै खेलमा पहिलो रोजाइमा खेलेका थिए । यी सबै खेलमा गार्सियाको गोलमा योगदान पनि रह्यो । युभेन्टसविरुद्ध गार्सियाले खेलको ५४ औँ मिनेटमा निर्णायक गोल गरे ।

खेलको ६८ औँ मिनेटमा गार्सियाकै स्थानमा एमबापे मैदान छिरेका थिए । एमबापेले युभेन्टसविरुद्ध खेलेर क्लब विश्वकप फुटबलमै पदार्पण गर्नुभएको हो ।

रियल म्याड्रिडले क्वाटरफाइनलमा जर्मनीको बोरुसिया डर्टमन्डविरुद्ध खेल्नेछ । बोरुसिया डर्टमन्डले बुधबारै अर्को प्रिक्वाटरफाइनलमा मोन्टेरेलाई २–१ ले हराएको थियो । बोरुसियाकालाग दुवै गोल पूर्वार्धमा सेरहोउ गुइरासीले गरे । दुवै गोलमा करिम आडिएमीको एसिस्ट रहेको थियो । उत्तरार्धको तेस्रो मिनेटमै मोन्टेरेका जर्मन बटरामेले एक गोल फर्काएर खेल रोचक बनाएपनि बराबरी गोल गर्न सकेन । एपी

तस्बिर साभारः एपी