राष्ट्रपतिद्वारा यु-१६ क्रिकेट विजेता टोलीलाई सम्मान: “खेलाडीको समर्पणले देशको प्रतिष्ठा उँचो बनायो”

काठमाडौँ, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर देशको गौरव बढाएकोमा नेपाली युवा टोलीलाई सम्मान तथा बधाई दिनुभएको छ।

आज शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले खेलाडीहरूको समर्पण, लगाव र मेहनत नै सफलताको मुख्य आधार भएको बताउनुभयो।

सिंगापुरलाई फाइनलमा पराजित गर्दै उपाधि जित्नु नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउँदै उहाँले भन्नुभयो, “तपाईंहरूको यो सफलताले देशको इज्जत र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाएको छ।” राष्ट्रपतिले नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र खेलाडीले हासिल गरेको सफलता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

खेलकुद क्षेत्रको समग्र विकासमा जोड दिँदै राष्ट्रपति पौडेलले परम्परागत खेलहरूको संरक्षण गरी तिनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो।

उहाँले थप्नुभयो, “देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार, स्तरीय प्रशिक्षण र नियमित प्रतियोगिताहरू आयोजना गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल साबित हुने खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ।”