नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ, असार २४ गते । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेकी पहाडीले मंगलबार बिहान विशेष अदालतमा हाजिर भई बयान दिएपछि थुनछेक बहस भएको थियो । बहसपछि न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पहाडीलाई धरौटीमा छाड्ने आदेश दिएको विशेष अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।
