कैलालीमा बाढीले बगाउँदा दुई महिलाको मृत्यु, एक पुरुष बेपत्ता
धनगढी, २६ असार । कैलालीका विभिन्न नदीमा आएको बाढीले बगाउँदा दुई जना महिलाको मृत्यु भएको छ भने एक जना पुरुष बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएकाहरूको शव फेला परेको हो ।
प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–४, माघी निवासी ७० वर्षीया चुनबुदिया चौधरीको शव कान्द्रा नदी किनारमा फेला परेको छ । उनी दाउरा संकलन गर्न गएका बेला नदीमा आएको बाढीले बगाएर बेपत्ता भएकी थिइन् । उनको शवको सनाखत भइसकेको छ ।
त्यसैगरी, गोदावरी नगरपालिका–२, महराकटानस्थित गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया एक महिलाको शव फेला परेको छ । क्षतविक्षत अवस्थामा भेटिएको उक्त शवको पहिचान हुन सकेको छैन । शवलाई पहिचानका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, गौरीगंगा नगरपालिका–२, पुरानो चौमाला बजार नजिकै नदी तर्ने क्रममा बाढीले बगाएका करिब ५० वर्षीय एक पुरुष अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जानकारी दिएको छ ।