मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’
गोरखा, ४ साउन । उत्तरी गोरखास्थित प्रसिद्ध मनास्लु संरक्षण क्षेत्रको पदयात्रालाई थप सुरक्षित र सहज बनाउने उद्देश्यले विभिन्न स्थानमा ‘मार्किङ पोल’ र ‘साइनपोष्ट’ जडान गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले पर्यटकलाई पदमार्ग पहिचान गर्न र यात्रामा सुविस्ता होस् भनी गत आर्थिक वर्षमा ५० भन्दा बढी यस्ता संकेतहरू थप गरेको हो ।
आयोजनाका प्रमुख सन्तोष शेरचनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पदमार्गका ३५ स्थानमा सूचनामूलक साइनपोष्ट र १६ स्थानमा मार्किङ पोल थपिएका छन् । यी पूर्वाधारले विशेषगरी हिउँ परेको समयमा र नयाँ पदयात्रीलाई बाटो पहिचान गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।
नुब्री उपत्यकाको लार्के बजारदेखि भीमथाङसम्मको कठिन खण्डमा १६ वटा नयाँ मार्किङ पोल थपिएसँगै अब यस क्षेत्रमा मार्किङ पोलको कुल सङ्ख्या १२४ पुगेको छ । “हिउँले पदमार्ग पुरिँदा पर्यटकहरू अलमलिन सक्ने भएकाले यी पोलहरूले सही बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्छन्,” प्रमुख शेरचनले भन्नुभयो ।
यस्तै, पदमार्गका विभिन्न चोक तथा महत्त्वपूर्ण स्थानमा ३५ वटा नयाँ साइनपोष्ट राखिएको छ । जसमा चुमभ्यालीतर्फ (गणेश हिमाल जाने बाटो समेत) १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुईवटा साइनपोष्ट थपिएको शेरचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यी साइनपोष्टले पर्यटकलाई आफू पुगेको ठाउँ, त्यसको उचाइ, अर्को गन्तव्यको दूरी र समयका साथै त्यस क्षेत्रमा पाइने वन्यजन्तुबारे पनि जानकारी दिन्छ, जसले यात्रालाई थप रोचक बनाउँछ ।”
एमक्यापले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि पदमार्ग सुधारको कामलाई निरन्तरता दिने योजना बनाएको छ । यस वर्ष थप २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।