पर्यटन प्रवर्धनका लागि मत्स्य पोखरीमा ‘चिचिला महोत्सव’ हुने

चिचिला महोत्सव २०८३

काठमाडौँ, कार्तिक ३० । पर्यटन प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सङ्खुवासभाको मत्स्यपोखरीमा ‘चिचिला महोत्सव २०८३’ आयोजना हुने भएको छ । चिचिला गाउँपालिकाले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ५ देखि ८ गतेसम्म महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकता दिएर महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न, कृषि उपज, पशुपन्छीजन्य सामग्री तथा हस्तकलाका वस्तुको प्रदर्शनी र बिक्रीका लागि कम्तीमा ३० वटा स्टल राखिनेछ । यसबाट स्थानीय उत्पादकलाई आफ्ना उत्पादनको बजारीकरण गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा महिला तथा पुरुष खुला ट्रेल रेस प्रतियोगिता सञ्चालन गरिनेछ । लालिगुराँस पदमार्ग तथा चिचिला क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिता १२ दशमलव ५ किलोमिटर दूरीको हुनेछ ।

मङ्सिर ५ गते बिहान ८ बजे छ्याङकुटीबाट सुरु हुने प्रतियोगिता मिमिटे, ठूलोटोलो, देउराली, चिचिला बजार, क्वापानी, बल्थाम, मकालु हिरक पार्क, घजे प्रवेशद्वार, गुराँसे र घजे मत्स्य सामुदायिकस्थल हुँदै महोत्सवस्थल मत्स्यपोखरीमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीलाई क्रमशः नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा साहित्य, सङ्गीत तथा सांस्कृतिक कार्यक्रमलाई समेत प्राथमिकता दिइनेछ । स्थानीय जातजातिका कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *