व्यावसायिक खुर्सानीखेतीबाट गाउँलाई आत्मनिर्भर बनाउने कृषक यादवको प्रयास

काठमाडौँ, कार्तिक ३० । भारतीय बजारमाथिको निर्भरता घटाउँदै स्थानीय उत्पादनबाटै बजारको माग पूरा गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जका किसान व्यावसायिक खुर्सानीखेतीतर्फ आकर्षित हुन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका १९ का अगुवा कृषक गोपी यादव विभिन्न प्रजातिका खुर्सानीखेती गरी स्थानीय बजारको माग पूरा गर्ने प्रयासमा हुनुहुन्छ । आफ्नै खेतबारीमा व्यावसायिक खेती गरेर उत्पादन बढाउन सके भारतीय बजारमाथिको निर्भरता घटाउन सकिने उहाँको विश्वास छ ।

कृषक यादवले उत्पादन गरेको खुर्सानी खरिद गर्न व्यापारी खेतबारीमै पुग्ने गरेका छन् । व्यापारीले उहाँको बारीबाट प्रतिपाउ रु ८० मा खुर्सानी खरिद गरी बजारमा रु १०० सम्ममा बिक्री गर्ने गरेका छन् । खेतमै व्यापारी आएर उत्पादन खरिद गर्न थालेपछि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको र खेतीप्रति थप उत्साह मिलेको उहाँ बताउनुहुन्छ ।

यादवले विगत केही वर्षदेखि १० कठ्ठा जमिनमा खुर्सानीखेती गर्दै आउनुभएको छ । अन्य बाली तथा तरकारीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस वर्ष खेतीको क्षेत्रफलसमेत विस्तार गर्नुभएको छ ।

उहाँका अनुसार बजारमा विभिन्न प्रजातिका खुर्सानीको माग छ । व्यापारीले एकैपटक तीनदेखि चार प्रकारका खुर्सानी माग गर्ने गरेका छन् । मागअनुसार सबै प्रजातिका खुर्सानी स्थानीय बजारमा उपलब्ध हुन नसके व्यापारी भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् । त्यसैले किसानले खेती गर्नुअघि बजारको माग र उपभोक्ताको रुचि पहिचान गर्नुपर्ने उहाँको सुझाव छ ।

खुर्सानीखेतीमा उत्पादन बढाउनुका साथै गुणस्तर कायम राख्न पनि उत्तिकै ध्यान दिनुपर्ने यादव बताउनुहुन्छ । खुर्सानीका बोटमा देखिने ढुसी तथा ब्याक्टेरियाजन्य रोगको समयमै पहिचान र उपचार गर्न सके उत्पादनमा हुने क्षति कम गर्न सकिने उहाँको भनाइ छ ।

कृषि उत्पादनका लागि जमिन र श्रम मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले बजारको माग, उपयुक्त बाली छनोट र प्राविधिक ज्ञानलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । कृषि प्राविधिकको परामर्शअनुसार खेती गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिने उहाँको अनुभव छ ।

जाडो मौसम सुरु भएसँगै तराई क्षेत्रमा ढोंडे खुर्सानीको माग बढ्ने भएकाले यादवले यस वर्ष उक्त प्रजातिको खुर्सानीखेतीलाई पनि प्राथमिकता दिनुभएको छ । बजारको मागअनुसार उत्पादन गर्न सके स्थानीय किसानले आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सक्ने उहाँको विश्वास छ ।

स्थानीयस्तरमा खेतीयोग्य जमिन र श्रमशक्ति उपलब्ध रहेकाले व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न सके रोजगारी तथा आम्दानीका अवसर सिर्जना हुने उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानको आयआर्जन बढ्नुका साथै उपभोक्ताले पनि सहज रूपमा ताजा कृषि उपज प्राप्त गर्न सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *