नारायणगढ-मुग्लिन सडकमा ढुङ्गा खस्दा, कारमा सवार तीन भारतीय नागरिक घाइते

चितवन, ४ साउन । वर्षायाममा निकै जोखिमपूर्ण मानिने नारायणगढ-मुग्लिन सडकखण्डमा आज दिउँसो फेरि ढुङ्गा खस्दा एक कार दुर्घटनाग्रस्त भएको छ, जसमा सवार तीन जना भारतीय नागरिक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ८० जिपी २९२८ नम्बरको कार तुइनखोला नजिक पुग्दा माथिबाट एक्कासी ढुङ्गा खसेको थियो।

ढुङ्गाले कारमा क्षति पुर्‍याउँदा भारतको आगरा निवासी ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका हुन्।

घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो। प्रहरीका अनुसार, उनीहरूको अवस्था खतरामुक्त रहेको छ।