भक्तपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु, चालक पक्राउ
भादगाउँ , ६ साउन। भक्तपुरको सूर्यविनायकमा आज बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
अरनिको राजमार्गमा सडक पार गर्दै गरेकी भक्तपुर नगरपालिका–४, मंगलाछेंकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नम्बरको बसले सूर्यविनायक–८, इटबु चोकमा श्रेष्ठलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल भक्तपुर अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भयो।
प्रहरीले ठक्कर दिने बस र चालक नुवाकोटका २८ वर्षीय निलकुमार तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो।