खेतमा हरियाली फर्काउन खोज्दा गयो ज्यान, रौतहटमा एक हप्तामै तीन किसानकाे करेन्ट लागेर मृत्यु
रौतहट, ८ साउन । यस वर्षको खडेरीले सुक्न लागेको धान जोगाउन प्रयोग गरिएको विद्युतीय मोटर नै रौतहटका किसानका लागि काल बनेको छ ।
खेतमा पानी लगाउने क्रममा करेन्ट सर्ट हुँदा गएको एक हप्तामा एक किशोरसहित तीन जना किसानको दुःखद मृत्यु भएको छ ।
बुधबार बिहान माधव नारायण–४ का ४० वर्षीय रामबाबु मुखियाले खेतमा पानी लगाउन मोटर जोड्दै गर्दा करेन्टले समात्यो । परिवारले उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याए पनि उनलाई बचाउन सकिएन । सोही दिन कटहरीया–२ का ५२ वर्षीय मोक्तार देवानको पनि उही नियति भयो । खेतमा पानी लगाउँदा करेन्ट लागेका उनको गरुडाको एक अस्पतालमा मृत्यु भयो ।
यो दुःखद शृङ्खला गत साता नै सुरु भएको थियो, जब मौलापुर–८ का १४ वर्षीय गोलु भनिने नरेन्द्र पटेलले खेतमा पानी लगाउँदा करेन्ट लागेर ज्यान गुमाए । पानी नपर्दा मोटरको भरमा खेती गर्नुपर्ने बाध्यताले किसानहरू असुरक्षित बन्न पुगेका छन् ।