प्रधानमन्त्री आज महोत्तरी र बारा जानुहुँदै
काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै तराई मधेशमा पानी राम्राेसंग नपरेकाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति निरिक्षणका लागि पनि प्रधानमन्त्री ओली पुग्नुहुने कार्यक्रम रहेकाे छ ।