निजामती विधेयक छानबिन समितिको म्याद एक हप्ता थपियो

काठमाडौँ, ९ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको त्रुटिबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि एक हप्ता थपिएको छ। प्रतिनिधिसभाको आजको बैठकले समितिलाई थप समय दिने निर्णय गरेको हो।

उक्त विधेयक राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा पेस हुने क्रममा अवकाशप्राप्त कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी भएको आरोप लागेपछि अध्ययनका लागि गत असार २३ गते विशेष समिति गठन गरिएको थियो। सभामुख देवराज घिमिरेले समितिको मागअनुसार म्याद थपको प्रस्ताव गर्दा सदनले सहमति जनाएको हो।

यसैगरी, आजको बैठकले संसदीय समितिका केही सदस्यहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ। जसअनुसार दिक्पालकुमार शाहीलाई कृषि समितिबाट महिला तथा सामाजिक मामिला समितिमा र विष्णुकुमार कार्कीलाई कृषिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ।

त्यस्तै, प्रतिमा गौतम पूर्वाधारबाट कृषि समितिमा र आशा विक महिला तथा सामाजिक मामिलाबाट कृषि समितिमा सरेकी छन्।

साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ‘कृत्रिम बौद्धिकता सम्मेलन’ मा भाग लिन चीन प्रस्थान गरेकाले उहाँको अनुपस्थितिमा मन्त्रालयको कार्यभार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको जानकारी पनि सदनलाई गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *