जलस्रोत विधेयक शीघ्र पारित गर्न ऊर्जामन्त्रीको आग्रह, सांसद् डा. अन्जान शाक्यलगाएतले गरे विधेयकमा छुटेका महत्वपूर्ण विषयहरू समावेस गर्न जाेड
काठमाडौँ, १६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा बढ्दो पानीको अभाव र सङ्कट समाधानका लागि ‘जलस्रोत विधेयक, २०८१’ लाई शीघ्र पारित गर्नुपर्नेमा जोड दिनुभएको छ।
मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा विधेयकमाथिको दफावार छलफलमा बोल्दै मन्त्री खड्काले यो विधेयक मुलुकको हितमा रहेको र यसलाई चाँडो टुङ्ग्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले विधेयकले प्रदेश र स्थानीय तहलाई जलस्रोत व्यवस्थापनमा थप सबल र सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा समितिकी सभापति तुलसाकुमारी दाहालले सांसदहरूबाट प्राप्त रायसुझावलाई समेटेर विधेयकलाई चाँडै नै अन्तिम रूप दिइने प्रतिबद्धता जनाउनुभयो।
छलफलमा भाग लिँदै सांसदहरू डा. अन्जान शाक्य, कृष्णप्रसाद सिटौला, डा. वेदुराम भुसाल लगायतले विधेयकमा छुटेका महत्वपूर्ण विषयहरूलाई समावेश गरी यसलाई अझ समृद्ध र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो।
जलस्रोतसम्बन्धी विद्यमान कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले ल्याइएको यो विधेयक गत जेठ ५ गते प्रतिनिधिसभाबाट पारित भइसकेको छ। हाल यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलका क्रममा रहेको छ।