नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थप

नवलपरासी, १८ साउन । राष्ट्रिय गौरवको आयोजना नारायणघाट–बुटवल सडक विस्तारको म्याद फेरि एक वर्षका लागि थपिएको छ।

तेस्रो पटक थपिएको म्याद सकिँदा करिब ७० प्रतिशत मात्र काम सकिएपछि सरकारले चौथो पटक म्याद थप गर्दै वि.सं. २०८३ साउन ७ गतेसम्मको समय दिएको हो।

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यो अन्तिम पटकका लागि म्याद थपिएको र निर्माण कम्पनीले यही अवधिमा काम सक्ने प्रतिबद्धता जनाएको बताउनुभयो। “पछिल्लो समय निर्माणमा तीव्रता आएको छ,” उहाँले भन्नुभयो, “अबको ध्यान दाउन्नेको ढलान र बाँकी दुई पुल निर्माणमा केन्द्रित छ।”

तर, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका ठेक्का सह–व्यवस्थापक राकेश झाले आफूहरूले १८ महिनाको समय मागे पनि सरकारले एक वर्षमात्र दिएकोले तोकिएको समयमा काम सक्न कठिन रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी सक्दो प्रयास गर्छौं, तर यो अवधिमा सडकको मुख्य काम सकिए पनि फुटपाथ र सौन्दर्यीकरण जस्ता काम बाँकी रहन सक्छन्।” यदि काम नसकिएमा प्रगतिको आधारमा थप ६ महिना समय मागिने उहाँको भनाइ छ।

दाउन्ने खण्डकाे ४ किलोमिटर सडक ढलान गर्नुपर्नेमा हालसम्म ९०० मिटर मात्र सकिएको छ। पुल निर्माणमा अरुणखोला र गिरुवारी खोलामा पुल निर्माण कार्य जारी छ। त्यस्तै सर्भिस लेन अन्तर्गत करिब १७.४ किलोमिटर सर्भिस लेन निर्माण गर्न बाँकी छ। कालोपत्र अन्तर्गत गैँडाकोटस्थित नारायणी पुल जोड्ने १०० मिटर सडक कालोपत्र गर्न बाँकी छ।

विसं २०७५ माघमा ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु भएको यो आयोजना सात वर्ष बितिसक्दा पनि अधुरै छ। कुल ११४ किलोमिटर लामो यो सडक आयोजनाको लागत करिब रु १७ अर्ब रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *