५ हजार ३०० नेपालीलाई कोरियामा रोजगारीको अवसर: भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौँ, १९ साउन। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान चाहने नेपालीहरूका लागि भाषा परीक्षाको आवेदन खुला भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कुल ५,३०० जनाको कोटा निर्धारण गर्दै साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
माग गरिएको कोटामध्ये उत्पादनमूलक क्षेत्रका लागि ३,५०० र कृषि तथा पशुपालन क्षेत्रका लागि १,८०० जना तोकिएको छ। आवेदन दिँदा कुनै एक क्षेत्र मात्र छनोट गर्न पाइनेछ।
शाखाका अनुसार, १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। साथै, आवेदक फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नपठाइएको र नेपाल सरकारले विदेश जान रोक नलगाएको हुनुपर्नेछ।
यो पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुनेहरूले मात्र दोस्रो चरणको सीप परीक्षण (Skill Test) मा सहभागी हुन पाउनेछन्। दुवै चरणमा सफल भएपछि मात्र रोजगारका लागि आवेदन दिन योग्य मानिनेछ। परीक्षा काठमाडौँमा सञ्चालन हुनेछ।