बजेट अभावले १५ वर्षदेखि दुग्धेश्वरनाथ मन्दिरको धर्मशाला निर्माण अलपत्र

वीरगञ्ज, २२ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला बजेट अभाव र प्रक्रियागत झन्झटका कारण विगत १५ वर्षदेखि अलपत्र परेको छ।

चन्दा सङ्कलनबाट निर्माण सुरु गरिए पनि आवश्यक बजेट नहुँदा निर्माण कार्यले पूर्णता पाउन नसकेको हो।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलका अनुसार हालसम्म चन्दाबाटै करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको छ। उहाँले भन्नुभयो, “सरकारी निकायबाट कुनै सहयोग पाइएको छैन। धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब दुई करोड रुपैयाँ आवश्यक पर्छ।”

मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूका अनुसार चन्दाबाट धर्मशालाको दुईतले ढलान भए पनि झ्याल, ढोका, शौचालय र प्लास्टर जस्ता आधारभूत कामहरू बाँकी छन्। मन्दिर पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले निर्माणका लागि प्रक्रियागत झन्झट समेत बेहोर्नुपरेको उहाँको भनाइ छ।

चुरे पहाडको डाँडामा रहेको यो मन्दिरमा साउन महिनाभरि मेला लाग्छ, जहाँ ठूलो सङ्ख्यामा भारतीय र नेपाली भक्तजनहरू आउने गर्छन्। जङ्गली जनावरको जोखिमका कारण बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मन्दिर जाने बाटो बन्द गरिन्छ र अन्य समयमा मन्दिर प्रवेशमा रोक लगाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *