सभापति खतिवडाले बुझाए राजीनामा

काठमाडौँ, २८ साउन । निजामती सेवा विधेयकमा भएको छेडखानीको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट औपचारिक रूपमा राजीनामा दिनुभएको छ ।

संसदीय छानबिन समितिले विधेयकको “कुलिङ पिरियड” सम्बन्धी व्यवस्थामा चलखेल भएको ठहर गर्दै उहाँलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि खतिवडाले पद त्याग गर्नुभएको हो ।

बुधबार संसद बैठकमै राजीनामाको घोषणा गर्नुभएका उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् ।