तदर्थ कमिटीको गठनमा नेपाल ओलम्पिक कमिटीको गम्भीर ध्यानाकर्षण
काठमाडौं, २८ साउन । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले धु्रवबहादुर प्रधानको अध्यक्षतामा गठन भएको तदर्थ कमिटीप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
श्रेष्ठको कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को मान्यता रहेको छ । श्रेष्ठ नेतृत्वको एनओसीले बुधबार विज्ञप्ति जारी गर्दै अनधिकृत व्यक्तिहरुको भेलाले एनओसीको तदर्थ कमिटी गठन गर्न नसक्ने जनाएको छ ।
महासचिव राजिव श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ दफा ३७ ले समेत एउटा देशमा एउटा मात्र ओलम्पिक कमिटी रहन सक्ने व्यवस्था गरेको छ । एउटा ओलम्पिक कमिटी हुँदाहुँदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले तदर्थ समिति गठन गर्न सकिँदैन । एनओसीको लेटरप्याड, ओलम्पिक रिङ्ग, लोगो र ओलम्पिक झण्डाको प्रयोग एनओसीको सम्पति हो । त्यसको प्रयोगको अधिकार अरु कसैलाई छैन । त्यसकारण एनओसीको लेटरप्याड रिङ्ग, लोगो र ओलम्पिक झण्डाको अनधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गर्दछौँ ।’
मङगलबार राति प्रधानको अध्यक्षतामा मङगलबार राति नौ सदस्यीय नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गरेपछि ओलम्पिक विवाद पेचिलो बनेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत निर्देशन रहेको भन्नुहुँदै प्रधानको अध्यक्षतामा एनओसीको तदर्थ कमिटी गठन गर्ने जानकारी पहिले नै दिनुभएको थियो । तदर्थ समिटीको प्रवक्ता समिम मियाँ अन्सारीद्वारा जारी विज्ञप्तीमा एनओसीमा आबद्ध २३ राष्ट्रिय खेल सङघका अध्यक्ष, महासचिव र पदाधिकारीको संयुक्त भेलाले तदर्थ समिति गठन गरेको बताएको छ । प्रधान एनओसीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
सो विज्ञप्तिमा अध्यक्ष र प्रवक्ताबाहेक नौ सदस्यीय तदर्थ समितिमा रहेका अन्यको नाम सार्वजनिक गरेको छैन ।
