प्रधानमन्त्री ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने, भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने
काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीनको भ्रमणमा जाने तयारी भएको छ । चीनको तियानजिन सहरमा आयोजना हुने एक अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुने भएकाले प्रधानमन्त्री ओलीले दुवै नेतासँग साइडलाइनमा छुट्टाछुट्टै छलफल गर्नुहुनेछ ।
अगस्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा हुने उक्त सम्मेलनमा यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे छलफल भए पनि अन्तिम समयमा प्रधानमन्त्री नै जाने निर्णय भएको हो ।
प्रधानमन्त्री नियुक्त भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । उहाँले गत वर्ष आफ्नो पहिलो विदेश भ्रमण पनि चीनबाटै सुरु गर्नुभएको थियो ।
चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने तयारी पनि भइरहेको स्रोतले जनाएको छ ।