आज बौद्धहरुको दान दिने र ग्रहण गर्ने “पञ्चदान” पर्व भव्यताका साथ मनाईदैं ।
काठमाडौं। काठमाडौं उपत्यका पाइलैपिच्छे मन्दिर, चैत्य, देवालय, शिवालय भएको शहर हो। यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ । यति मात्रै होइन यहाँ महिनै पिच्छे चाडपर्वहरू मनाई आइरहेको हुन्छ। श्रावण कृष्ण चतुर्दशी अर्थात् पिचास चतुर्दशी (गठांमुगः) पछि यहाँ चाडपर्वको लाम लागेर आएको हुन्छ । ती चाडपर्वहरू मध्ये एउटा विशेष पर्व आउँदछ “पञ्चदान” पर्व । स्थानीय नेपालभाषामा यो पर्व “पञ्जराँ” नामले प्रख्यात छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाइने “पञ्चदान” पर्व अर्थात “पञ्जराँ” आज शनिवार परेको छ।

यो पर्व काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको विशेष पर्व गुँला महिनामा पर्ने महत्वपूर्ण पर्व हो। गुँला महिनाभरि नै बौद्ध धर्मावलम्बी नेवारहरू बौद्ध देवस्थलको दैनिक परिक्रमा गर्नुको साथै महिनाभरि नै ब्रत बस्ने, अरूको उपकार गर्ने, लक्ष्य चैत्य (माटाका १ लाख चैत्य) बनाउने जस्ता धार्मिक कार्यहरू गर्ने गरिन्छ भने यही महिनामा दानधर्म गर्ने कार्य पनि गरिन्छ। यसरी दान दिने पर्वको रूपमा “पञ्चदान” पर्वलाई मनाउने गर्दछ।
बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि पूरा गर्नुपर्ने विभिन्न दशवटा पारमिताहरू मध्ये दानपारमिता सबभन्दा अगाडि आउँदछ । दान कार्य गर्नाले मैत्री, करुणा, मुदिता, उपेक्षाको भावना वृद्धि हुन्छ भने दानपारमिता पूर्ण भएमा अरू पारमिताहरूको अभ्यास गर्न सजिलो पर्दछ । यस कारण दान कार्य गर्ने पर्वको रूपमा “पञ्चदान पर्व” बौद्ध नेवारहरूको श्रद्धापूर्वक मनाउने गर्दछ।

यो पर्वमा बुद्धधर्मका त्रिरत्न अर्थात् बुद्धरत्न, धर्मरत्न, संघरत्नहरू मध्ये संघरत्नको रूपमा रहेका बज्राचार्य शाक्यभिक्षुहरूको संघलाई उपासक÷उपासिकाहरूले आ–आफ्नो घरमा दिपंकर बुद्धको प्रतिमा प्रदर्शन गरी पिण्डपात्रहरू धान, चामल, गेडागुडी, खिर, नून आदि खाद्य वस्तुहरूको साथै दैनिक जिवनमा चाहिने वस्तुहरू — औषधी, खरी, धागो, सियो, वस्त्र, सर्वत, कुचो, डोरी, दियो आदि वस्तुहरू दान गर्ने चलन छ ।
कसैकसैले दानशाला बनाई बज्राचार्य शाक्यभिक्षुहरूलाई निमन्त्रणा गरी पाउ धोई पखाली, भुईंमा कपडा बिछ्याई पूजा गरेर त्यस्ता वस्तुहरू दान गर्ने गरिन्छ जसलाई “नराँ पञ्चदान” भन्ने चलन छ । बज्राचार्य शाक्यभिक्षुहरूले आफ्ना जजमानहरूकहाँ पञ्चदान लिन जानुको साथै आफ्नो घरमा अरू बज्राचार्य शाक्यभिक्षुहरूलाई पञ्चदान दिने गरिन्छ।
