टेलिग्राम बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ,६ भदाै । सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्न दिएको निर्देशनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता मोनिका धाख्वा लगायत चार जनाले बिहीबार उक्त रिट दायर गरेका हुन्।
रिटको प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ। रिटमा नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते जारी गरेको टेलिग्राम बन्द गर्ने निर्देशन खारेज गर्न माग गरिएको छ। साथै, उक्त निर्देशन कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेशको पनि माग गरिएको छ।
निवेदकहरूले प्राधिकरणको निर्देशन संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकविपरीत भएको जिकिर गरेका छन्। यो निर्देशन विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४३ को व्यवस्थासँग पनि बाझिएको रिटमा उल्लेख छ।
विषयको गम्भीरतालाई ध्यानमा राख्दै मुद्दालाई अग्राधिकार दिन पनि निवेदकले माग गरेका छन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।