गोकर्णेश्वर मेलाको तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अनुमान
काठमाडौँ, ६ । भदौ काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन लाग्ने विशाल मेलाको तयारी पूरा भएको छ । ‘बुबाको मुख हेर्ने दिन’ वा ‘कुशे औँसी’का रूपमा चिनिने यस पर्वमा आफ्ना दिवङ्गत पिताको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्न लाखौँ भक्तजन गोकर्णेश्वर आउने गर्दछन् ।
मन्दिर क्षेत्र प्रबन्ध समितिका अनुसार मेलालाई व्यवस्थित बनाउन सम्पूर्ण तयारी सकिएको छ । समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जयराम महतले मेला व्यवस्थापनका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । सहज व्यवस्थापनका लागि यातायात, आर्थिक, स्वास्थ्य, स्वयंसेवक परिचालन, खोजतलास लगायतका सातवटा उपसमितिहरू गठन गरिएको छ ।
मेलामा आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै शनिबार नेपाल मेडिकल कलेज र माकालबारीको सानो पुल क्षेत्रमा सार्वजनिक सवारी साधनलाई रोक लगाइनेछ । टाढाबाट आउने श्रद्धालुहरू औँसीको अघिल्लो दिनदेखि नै मन्दिर क्षेत्रमा आएर बस्न थालेका छन् ।
‘पितृदेवो भव’ भन्ने वैदिक मान्यताअनुसार यस दिन जीवित पितालाई सम्मान प्रकट गरी मिष्ठान्न भोजन गराएर आशीर्वाद लिइन्छ भने दिवङ्गत पिताको नाममा गोकर्णेश्वर, रसुवाको बेत्रावती, देवघाट जस्ता पवित्र तीर्थस्थलमा तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा छ । यसैले यस औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।
यस दिन गरिने सानो दानले पनि हजारौँ गुणा बढी पुण्य फल प्राप्त हुने शास्त्रीय विश्वास रहेको छ । साथै, वर्षभरिका देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश पनि यही दिन घरघरमा भित्र्याउने चलन छ, जसकारण यसलाई कुशे औँसी पनि भनिएको हो । सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् ।