विकास बजेट खर्च गर्नमा चुके मकवानपुर जिल्लाका स्थानीय तह : बागमती प्रदेशले पनि ४२ करोड रुपियाँ खर्च गर्न सकेन
काठमाडौ, भदौ ८ । मकवानपुर जिल्लाका स्थानीय तह र बागमती प्रदेश सरकार विकासका लागि छुट्याइएको बजेट खर्च गर्न असफल भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरका १० वटै स्थानीय तहले सशर्त अनुदानतर्फको ३२ करोड २२ लाख रुपियाँ खर्च गर्न नसकेर फिर्ता पठाएका छन् । यस्तै, बागमती प्रदेश सरकारले पनि आफ्नो भागमा परेको ४२ करोड रुपैयाँ खर्च गर्न नसकी फिर्ता गरेको छ जसले विकास बजेट कार्यान्वयनमा गम्भीर कमजोरी रहेको देखाउँछ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौँडाका अनुसार जिल्लाका स्थानीय तहहरूलाई विभिन्न शीर्षकमा कुल ४ अर्ब १५ करोड ४१ लाख रुपियाँ निकासा भएको थियो । त्यसमध्ये शिक्षा, स्वास्थ्य, कृषि जस्ता तोकिएका कार्यक्रममा खर्च गर्नुपर्ने सशर्त अनुदानको २ अर्ब ९४ करोड रुपियाँबाट ठूलो हिस्सा फिर्ता भएको हो । कार्यालय प्रमुख दिनेश रेग्मीका अनुसार समयमा योजना छनोट र कार्यान्वयन गर्न नसक्नु नै बजेट फिर्ता हुनुको मुख्य कारण हो ।
यसैगरी, बागमती प्रदेश सरकारको बजेट खर्च क्षमता पनि निराशाजनक देखिएको छ । प्रदेश सरकारलाई निकासा भएको कुल ११ अर्ब ९६ करोड रुपियाँमध्ये ४९ करोड रुपियाँ खर्च हुन नसकी फ्रिज भएको छ ।
एकातिर विकास निर्माणका लागि बजेट अभावको गुनासो हुने र अर्कोतिर प्राप्त अनुदानसमेत खर्च गर्न नसकेर फिर्ता हुनुले योजना तर्जुमा र कार्यान्वयन क्षमतामाथि नै प्रश्नचिह्न खडा भएको छ । यसले गर्दा लक्षित विकासका कार्यक्रमहरु प्रभावित भएका छन् भने नागरिकले विकासको प्रत्यक्ष लाभ पाउनबाट वञ्चित भएका छन् ।