बाढीको पूर्वसूचना दिन ललितपुरमा जडान भयो ‘अर्ली वार्निङ सिस्टम’ : बाढीको सूचना दिन खतराको घण्टी बज्नेछ, ज्यान जोगाउन सजिलो हुनेछ
काठमाडौँ, भदौ ८ । ललितपुरका नदी किनारमा बस्ने बासिन्दाहरू ले नदीमा बाढी आउनु अघि खतराको घण्टी सुन्नुहुनेछ । ललितपुर महानगरपालिकाले उपत्यकामै पहिलो पटक वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ को नख्खु खोला किनारमा बाढीको पूर्वसूचना दिने ‘अर्ली वार्निङ प्रणाली’ जडान गरेपछि यो सुविधा प्राप्त भएको हो । जसले नदीमा पानीको सतह खतराको तहमा पुग्नासाथ साइरन बजाएर नागरिकलाई सुरक्षित स्थानमा जान सचेत गराउनेछ ।
नदीमा पानीको बहाव बढ्ने बित्तिकै बज्ने यो घण्टीको आवाज करिब दुई किलोमिटर टाढासम्म सुन्न सकिनेछ । जसले गर्दा नदी वरपरका बासिन्दाले समयमै आवश्यक सावधानी अपनाउन सक्नेछन् ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, ‘यो प्रणालीको एउटै उद्देश्य, बाढीबाट हुने जनधनको क्षतिलाई शून्यमा झार्नु हो । घण्टी बजेपछि मानिसहरूले आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउन पर्याप्त समय पाउनेछन् ।’
ललितपुर महानगरले बाढीको पूर्वसूचना प्रणाली मात्र जडान गरेको छैन । विपद् आइहालेमा तत्काल उद्धार र राहतका लागि एकीकृत संयन्त्र पनि तयार पारेको छ ।
नगर प्रहरी, दमकलकर्मी र अन्य उद्धारकर्मीहरूलाई एकै ठाउँमा तयारी अवस्थामा राखिएको छ । गत वर्ष बाढीमा उद्धारका लागि डुङ्गाको अभाव महसुस भएपछि महानगरले यस वर्ष नयाँ डुङ्गा खरिद गरेको छ । साना-ठूला गरी ६ वटा दमकल तयारी अवस्थामा छन्, जसमा साँघुरा गल्लीभित्र पसेर आगो निभाउन सक्ने विशेष दमकल पनि समावेश छ । महानगरले विपद् व्यवस्थापनका लागि वडास्तरमा स्वयंसेवक समूह गठन गर्ने र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार विपद्को समयमा उद्धार टोलीसँगै एम्बुलेन्स पनि सँगै परिचालन गर्ने व्यवस्था मिलाइएको महानगर प्रमुख महर्जनले बताउनुभयो । यो एकीकृत र प्रविधिमैत्री प्रयासले ललितपुरलाई सम्भावित विपद्को सामना गर्न पहिलेभन्दा धेरै सक्षम र सचेत बनाएको छ ।