सेवा प्रवाह चुस्त र पारदर्शी बनाउन जनप्रतिनिधिलाई आग्रह गर्दै मन्त्री न्यौपानेले भने “जनताका प्रश्नबाट नभाग्नुस्, समाधान दिनुस्”
तनहुँ, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सार्वजनिक निकायबाट प्रवाह हुने सेवालाई चुस्त, पारदर्शी र सुशासनयुक्त बनाई जनतालाई खुसी बनाउन स्थानीय जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले राजनीतिमा जनता नै सर्वोपरी हुने भएकाले उनीहरूको सुविधा र सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री न्यौपानेले जनप्रतिनिधिहरू जनताले उठाएका प्रश्न र गुनासाबाट भाग्न नहुने बताउनुभयो। “जनता खुसी र सुखी हुनुपर्छ। सार्वजनिक निकायले जनताले गर्ने प्रश्नबाट भाग्ने होइन, त्यसको समाधान खोज्ने हो,” उहाँले भन्नुभयो, “तपाईंहरूको सेवा पारदर्शी र प्रभावकारी हुनुपर्यो।”
उहाँले विकास निर्माणका कामहरू भइरहे पनि जनताको अपेक्षा पूरा गर्न हालको गति अपुग भएको भन्दै कामको गति बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेर समाजमा नकारात्मकता फैलिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रविधिको सही उपयोगमा ध्यान दिन र यसको दुरुपयोग रोक्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो।
सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका गतिविधिबारे मन्त्री न्यौपानेलाई जानकारी गराउनुभएको थियो।