राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनबीच आज शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा दुई देशबीच व्यापार, लगानी र पर्यटनजस्ता क्षेत्रमा सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल भयो।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउने प्रशस्त सम्भावना रहेको बताउनुभयो। उहाँले कृषि, पर्यटन, जलविद्युत् र उत्पादनका क्षेत्रमा भियतनामी लगानी भित्र्याउन नेपाल इच्छुक रहेको स्पष्ट पार्नुभयो।

बौद्ध धर्मले दुई देशका जनतालाई जोडेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लुम्बिनीलाई भियतनामी नागरिकले पवित्र तीर्थस्थलका रूपमा लिनु खुसीको कुरा भएको बताउनुभयो।

जवाफमा, उपराष्ट्रपति सुआनले सन् २०३० अगावै दुई देशबीच बृहत् सम्बन्धको खाका तयार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संस्कृति, खेलकुद र पर्यटनमा सहकार्यको आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खेलेको शान्ति स्थापनाको भूमिका र जलवायु परिवर्तनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो।