झापामा सवारी दुर्घटनाः एकको मृत्यु, चार घाइते; पिकअप चालक पक्राउ
बनियानी (झापा), ११ भदौ । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्। मृत्यु हुनेमा भ्यान चालक २९ वर्षीय नवराज बाँस्कोटा रहेका छन्। दुर्घटना गराउने पिकअप भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको पिकअप भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मे१च ५४४६ नम्बरको भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उहाँकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्। घाइते चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालयले पिकअप भ्यान मे१च ३४४० का चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।