हिलिहाङ गाउँपालिकाद्वारा आरन व्यवसायलाई आधुनिकीकरण गर्न सहयोग

काठमाडौँ, भदौ ११ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण गर्दै व्यवसायीहरूको आयआर्जन बढाउनका लागि उपकरणहरू वितरण गरेको छ। गाउँपालिकाले मंगलबार १० जना आरन व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार, कुल २ लाख ४८ हजार रुपियाँ लागतमा खरिद गरिएका यी उपकरणहरू वितरण गरिएको हो । “आरन चलाउनेको सङ्ख्या घट्दै गएको छ। पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रूपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ, “अध्यक्ष अधिकारीले भन्नुभयो ।” यहाँका आरनमा मुख्यतया कृषि र घरायसी प्रयोगका औजारहरू निर्माण तथा मर्मत गरिन्छ ।

अध्यक्ष अधिकारीले चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवर्द्धन गर्न ५० लाख रुपैयाँ विशेष अनुदान प्राप्त भएको पनि जानकारी दिनुभयो । उक्त बजेटले अधिकांश आरन व्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने उहाँको भनाइ छ ।

परम्परागत आरनबाट निर्मित औजारहरू गुणस्तरीय भए पनि बजारमा पाइने आधुनिक औजारभन्दा महँगो पर्ने गर्छ। आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य घटाउन सकिने व्यवसायीहरूको भनाइ छ। गाउँपालिकाले आगामी वर्षमा तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा थप सामग्री उपलब्ध गराउने तयारी गरेको छ।

हिलिहाङ–६ का सन्तवीर रसाइलीले परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो । “आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो  । अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्छ ।” उहाँले जोड दिनुभयो ।

गाउँ कार्यपालिकाकी सदस्य गङ्गामाया विश्वकर्माका अनुसार, हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेको छ। “सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सकेमात्र यसले व्यावसायिक रूप लिन सक्छ ।” विश्वकर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *