नवलपुरमा सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

काठमाडौँ, भदौ ११ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गत आर्थिक वर्ष २०८१/८२ मा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । यी बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ ।

आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्छ र करिब १५० जना किसान लाभान्वित हुन्छन् । “हामीले गत वर्षबाट मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा डिप बोरिङको काम गरेका हौँ, “उहाँले भन्नुभयो ।

वितरित बोरिङहरूमध्ये गैँडाकोट नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा चार, मध्यविन्दु नगरपालिकामा तीन, कावासोती नगरपालिकामा तीन र देवचुली नगरपालिकामा एउटा रहेका छन् ।

किसानबाट माग भएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताका आधारमा डिप बोरिङ वितरण गरिने आयोजना प्रमुख केसीले बताउनुभयो ।  डिप बोरिङ माग गर्नका लागि ३५ बिघा क्षेत्रफल जमिनको लालपुर्जा र वडाको सिफारिस आवश्यक पर्छ । आयोजनाले पानी आउने सम्भावित अवस्थाको अनुगमन गरी आवश्यकता पहिचान गरेर मात्र प्रक्रिया अगाडि बढाउँछ । माग धेरै भए पनि स्रोतसाधनको सीमितताका कारण सबैलाई उपलब्ध गराउन नसकिने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि नवलपुरका पाँच पालिकाबाट २० डिप बोरिङको माग आएको छ । तर, यसवर्ष बजेट कम आएको र नवलपुर, चितवन र मकवानपुरका लागि जम्मा १२ वटा बोरिङ मात्र स्वीकृत भएकाले समानुपातिक हिसाबले वितरण गर्दा एउटा जिल्लामा चारवटाभन्दा बढी डिप बोरिङ दिन नसकिने केसीले जानकारी दिनुभयो ।

प्रतिबोरिङ निर्माणका लागि रु २१ लाख खर्च लाग्ने र त्यसमा तीन प्रतिशत जनसहभागिता आवश्यक पर्ने उहाँले बताउनुभयो । किसानले श्रमदान वा नगद दुवैमा जनसहभागिता जनाउन सक्नेछन्, हालसम्म किसानको सहभागिता श्रमदानमार्फत हुँदै आएको छ ।

नवलपुरको गैँडाकोट, कावासोती र विनयी त्रिवेणीमा करिब १०० मिटर गहिराइबाट पानी आउने गरेको छ भने मध्यविन्दु र देवचुलीमा ११० मिटरभन्दा बढी गहिराइको बोरिङ गाड्नुपरेको छ ।

केसीले नहर, कुलो वा खोलाको पानी लाग्ने ठाउँमा बोरिङ वितरण नगरिने स्पष्ट पार्नुभयो । “जुन ठाउँमा सिँचाइका लागि पानी आवश्यक छ, कुलो तथा नहर छैन त्यस्ता ठाउँमा मात्रै बोरिङ दिने गरेका छौँ,” उहाँले भन्नुभयो । पानी आउने सम्भावना नभएको ठाउँमा पनि कार्यक्रम दिन नसकिने उहाँले बताउनुभयो । जिल्लाको हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकाका सबै भाग पहाडी क्षेत्रमा पर्ने भएकाले ती पालिकामा आफूहरूको कार्यक्रम नभएको उहाँले बताउनुभयो ।