२३ फिट अग्लो सिद्धबराहको मूर्तिसहितको गाजादह धार्मिक पर्यटन केन्द्र बन्दै

काठमाडौँ, भदौ १२ ।  नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको बागलुङको गाजादह अब धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्ने भएको छ। गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको आकर्षक मूर्ति स्थापना गरिएको छ ।

मूर्तिकार कृष्णबहादुर सुनारले चार महिना लगाएर बनाएको यो मूर्तिमा करिब २० लाख रुपैयाँ खर्च भएको छ । जैमिनी नगरपालिका–३ मा समुन्द्र सतहबाट २ हजार ५०० मिटरको उचाइमा रहेको गाजादहलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र सिद्धबराहको महिमालाई फैलाउने उद्देश्यले यो मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।

भगवान् विष्णुका दश अवतारमध्ये तेस्रो मानिने बराह अवतारलाई झल्काउने गरी यो भव्य मूर्ति निर्माण गरिएको हो । जैमिनी नगरपालिका र स्थानीय समुदायको सक्रियतामा गाजादहमा ताल संरक्षण, पूर्वाधार निर्माण र सिद्धबराहको मन्दिर लगायतका संरचना थपिएका छन् ।

मूर्ति निर्माणका लागि गाजादहमा आयोजित ज्ञान महायज्ञबाट सङ्कलन भएको रकम प्रयोग गरिएको हो । करिब २४ वर्गमिटरमा फैलिएको गाजादह धार्मिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गइरहेको छ ।