प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

काठमाडौं, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भ्रमणका एजेन्डाबारे पनि छलफल गरेको एक मन्त्रीले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली शनिबारदेखि पाँच दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार, उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुहुनेछ। साथै, भदौ १६ गते तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली जापानविरुद्धको युद्धमा विजय भएको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुहुनेछ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *