स्याफ्रुबेँसी-टिमुरे राजमार्गमा हलुका सवारीसाधन सञ्चालनमा, रसुवागढीसम्मको बाटो खुलाउने प्रयास जारी
काठमाडौँ, भदौ १३ । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलमा आएको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय राजमार्गका रूपमा रहेको यस खण्डको स्याफ्रुबेँसीबाट टिमुरेसम्मको १४ किलोमिटर सडक स्तरोन्नति गरी हल्का सवारीसाधनका लागि खुला गरिएको हो ।
गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले स्याफ्रुबेँसीदेखि टिमुरेसम्म ट्र्याक खोल्ने काम सकिएको र साना सवारीसाधन गुड्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार टिमुरेबाट रसुवागढीसम्मको बाँकी दुई किलोमिटर सडक खुलाउने प्रयास भइरहेको छ ।
श्रेष्ठले वर्षा नरोकिएको र नदीले दैनिक रूपमा कटान गरिरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा आउन अझै केही समय लाग्ने बताउनुभयो । सडक विभागको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको छ ।
टिमुरे र घट्टेखोला बीचको स्याउ पार्किङस्थल नजिकै भिरको फेदमा सडकको जग कटान भएकाले सो स्थानमा माथिबाट ठूला पहरा काट्नुपर्ने भएको छ। प्रमुख श्रेष्ठले उक्त काम सम्पन्न हुन कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान रहेको बताउनुभयो । चिनियाँ सरकारले मितेरी पुल तयार गर्नुअघि स्याफ्रुबेँसी–रसुवागढीको सडक तयार गर्ने योजनाका साथ काम भइरहेको प्राविधिकहरूले जानकारी दिएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले ल्हेन्देखोलमा द्रुतगतिमा पूर्वाधार निर्माण अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरी नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलमा राखिएको ह्युमपाइप गएरातिको वर्षाले बगाएको थियो । खोलाको पानीलाई ह्युमपाइपबाट एकतृत गरी निर्माण कार्य अगाडि बढिरहेको सीमा सुरक्षा निकायले जानकारी पठाएकाले दसैँअघि नै रसुवा–केरुङ सिधा यातायात सम्पर्क हुने विश्वास प्रजिअ पन्थीले व्यक्त गर्नुभयो ।
बुधबार रसुवामा बहाली गरेका प्रजिअ पन्थीले बिहीबार सडकको स्थलगत निरीक्षण गरी नेपालतर्फको सडक शीघ्र मर्मत एवं पुनर्निर्माण गर्न निर्देशन दिनुभएको छ । पुनर्निर्माणका क्रममा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।