बिर्तामोडको स्वीमिङ पुलमा एक युवा मृत फेला

काठमाडौँ, भदौ १४ ।  झापाको बिर्तामोड नगरपालिका-२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, बिर्तामोड-३ निवासी ३३ वर्षीय प्रकाश प्रसाईं स्वीमिङ पुलमा मृत फेला परेका हुन् । मृतक प्रसाईं बिर्तामोड-१० का आफ्ना साथी केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको भन्दै पार्क सञ्चालक जीवन ढुङ्गानाले राति ८ बजे प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।