रोहिङ्ग्या शिविरमा यौन उत्पीडन भयावह : अध्ययन प्रतिवेदन
काठमाडौँ, भदौ १५ । बङ्गलादेशको कक्स बजारस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा महिला तथा किशोरकिशोरीहरू यौन उत्पीडनको गम्भीर जोखिममा रहेको एक अध्ययनले देखाएको छ । आइतबार सार्वजनिक भएको यो प्रतिवेदनले शिविरभित्रको भयावह अवस्थालाई उजागर गरेको छ । शिविरमा कार्यरत सबैभन्दा ठूलो गैरनाफामूलक संस्था एक्सनएडले गरेको यो अध्ययनका लागि ६६ वटा गहन अन्तर्वार्ता लिइएको थियो । अध्ययनले महिला तथा किशोरकिशोरीले भोग्नुपरेका चुनौतीहरूलाई प्रष्ट पारेको छ ।
सन् २०१७ मा म्यान्माको रखाइन राज्यमा भएको सैनिक दमनबाट भागेर बङ्गलादेशसहित विभिन्न एसियाली मुलुकमा करिब १० लाख रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यकहरू शरणार्थी जीवन बिताइरहेका छन् । कक्स बजारस्थित शिविरमा उनीहरूको बसोबास छ ।
एक्सनएडका नीति, अनुसन्धान तथा वकालत प्रबन्धक तमाजर अहमदले भने, “यौन उत्पीडन सबैभन्दा ठूलो चिन्ताको विषय हो।” उनले थपे, “शिविरमा कम उमेरमै विवाह र बहुविवाह सामान्य भइसकेको छ र अन्तर्वार्तामा सहभागी ९३ प्रतिशत कानुनी सहायताको दायराभन्दा बाहिर छन् ।”
अध्ययनमा सहभागीहरूले आफ्नै परिवारका चिनजानका व्यक्तिहरूबाट मात्र नभई बङ्गलादेश सरकारले खटाएको सशस्त्र प्रहरी बटालियन (एपिबिएन) का सदस्यहरूबाट पनि हिंसात्मक घटना भएको बताएका छन् ।
अहमदका अनुसार, महिलाहरूले सुरुका दिनहरूमा आधारभूत सुविधाहरूको अभावको सामना गरे पनि अहिले अवस्था अझ बढी प्रणालीगत दुर्व्यवहारमा परिणत भएको छ । “अहिले रोहिङ्ग्या महिला र किशोरकिशोरीहरू प्रायः दुर्व्यवहार, बलात्कार, मानव बेचबिखन, गरिबी, शैक्षिक बहिष्करण र मृत्युको सिकार हुने गरेका छन्,” अहमदले बताए ।
अध्ययनले ६ देखि १५ वर्ष उमेर समूहका केटीहरू विशेष गरी असुरक्षित रहेको देखाएको छ । यौन उत्पीडनका अधिकांश घटनाहरू शौचालय र नुहाउने ठाउँ नजिक हुने गरेको पाइएको छ । उनीहरू वितरण केन्द्र, अस्पताल, विद्यालय र मदरसा, सीमा क्षेत्र र आफन्तको घरभित्रसमेत असुरक्षित छन् । एक्सनएडकी कार्यकारी निर्देशक फराह कबिरले रोहिङ्ग्या समुदायमा पितृसत्ता गहिरो गरी जरो गाडेको बताएकी छन् । उनले १६ देखि ३० वर्ष उमेर समूहका रोहिङ्ग्या महिलाको धारणा अनुसन्धानको केन्द्रमा रहेको जानकारी दिइन् ।
सर्वेक्षणमा सहभागी महिलाहरूले अधिकारीहरूलाई सार्वजनिक स्थलहरूमा प्रकाशको व्यवस्था सुधार गर्न, एपिबीएन अधिकारीहरूलाई सेनाका कर्मचारीहरूसँग प्रतिस्थापन गर्न, रोकथामका प्रयासहरूमा पुरुषहरूलाई समेत संलग्न गराउन र शिक्षा तथा जीविकोपार्जनमा पहुँच विस्तार गर्न आग्रह गरेका छन् । उनीहरूले कानुन कार्यान्वयन गर्ने निकाय र धार्मिक नेताहरूमाथिको विश्वास कम भएको र दुर्व्यवहारको सामना गर्दा न्यायका लागि जाने ठाउँ नभएको गुनासो गरेका छन् ।
एपिबिएनका कौसर सिकन्दरले भने सुरक्षा बलमाथि लागेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
बङ्गलादेशमा सन् २०२४ को सुरुदेखि म्यान्माबाट आउने शरणार्थीको सङ्ख्यामा वृद्धि भएको छ । थप १ लाख ५० हजार रोहिङ्ग्या नागरिक कक्स बजार र वरपरका क्षेत्रमा आश्रय लिन आएका छन् ।
