जुत्ता गोदाममा आगलागी हुँदा ७० लाख रुपियाँभन्दा धेरै आर्थिक क्षति
काठमाडौँ, भदौ २१ । कैलालीको लम्कीमा रहेको एउटा जुत्ताचप्पल गोदाममा आगलागी हुँदा रु ७० लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आज बिहान २ः४० बजे अचानक आगलागी भएको थियो ।
आगलागीको खबर पाउने बित्तिकै लम्कीचुहा नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
लम्की निवासी कल्पना जैशीद्वारा सञ्चालित उक्त गोदाममा जुत्ता र चप्पल लगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् । यद्यपि, आगलागीबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । किनकि गोदाममा कोही पनि बसोबास गर्दैनथे ।