इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि ठप्प: स्थानीय निराश, करोडौंको लगानी खेर जाने चिन्ता
काठमाडौँ, भदौ २२ । इलामको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल पछिल्लो तीन महिनादेखि पूर्णतः सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३३ वटा उडान भरेको यो विमानस्थल हाल जहाज उडानको पर्खाइमा छ, जसले गर्दा स्थानीय बासिन्दामा निराशा छाएको छ भने करोडौंको लगानी खेर जाने चिन्ता बढेको छ । इलाम नगरपालिका–९ मा अवस्थित यो विमानस्थललाई नियमित सञ्चालन गर्न जिल्लावासीले चर्को माग गरिरहेका छन् ।
शुरुवात र अवरोध
विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले सफल परीक्षण उडान गरेपछि इलामवासीमा नियमित हवाई सेवाको ठूलो आशा पलाएको थियो। त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गर्यो । तर, नियमित उडान नहुँदा इलाम लगायत पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि हवाई यात्राका लागि झापा वा विराटनगर धाउन बाध्य छन् ।
सम्झौताको समाप्ति र मौसमको बहाना
गत जेठ महिनायता यस विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । सुरुवाती दिनहरूमा तारा एयरले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । त्यसबेला इलाम नगरपालिकाले काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान सञ्चालन गरेको थियो ।
तर, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले पछिल्ला वर्षहरूमा नगरपालिकाले कुनै पनि एयरलाइन्ससँग सम्झौता नगरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ । अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।”
नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर, विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको बताउनुभयो । यसरी तीन महिनादेखि विमानस्थल सुनसान बनेको छ ।
स्थानीय जनप्रतिनिधिको प्रयास र चुनौती
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्न आफूहरू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ । तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।”
अधुरा संरचना र करोडौंको लगानी
करिब ३२८ रोपनी क्षेत्रमा निर्माण भएको यस विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो। विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भइसकेको छ । तर, स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायतका महत्वपूर्ण संरचनाहरू अझै अधुरै छन् ।
स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति १ देखि ४२ रोपनीसम्म जग्गा प्रदान गरेका थिए। विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको यस विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गर्नुभएको थियो।
भविष्य अन्योलमा
तीन महिनादेखि उडान ठप्प हुँदा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको छ भने यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि बाधा पुगेको छ । अधुरा संरचना र नियमित उडानको अभावले करोडौंको लगानी र स्थानीयको आशामाथि प्रश्नचिह्न खडा भएको छ । विमानस्थल नियमित सञ्चालनका लागि सरकार र सरोकारवाला निकायहरूको ठोस पहल आवश्यक देखिन्छ ।