भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा

काठमाडौँ, भदौ २९ । जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालयहरू सञ्चालनमा आएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिनुभयो ।उहाँले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरुप सेवा सुरु भएको बताउनुभयो ।
यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ । आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ । नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाका सबै विद्यालय आजदेखि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख थापाले भन्नुभयो, “आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौं । वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् । वडा नं ४ र ७ कार्यालय आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रूपमा जलेर क्षति भएकाले सञ्चालनमा आउन केही दिन लाग्ने छ।”
वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताउनुभयो ।
यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको जानकारी दिनुभयो ।