स्पेनी लिगमा बार्सिलोनाको फराकिलो जित

म्याड्रिड, ३० भदौ । स्पेनी लिगमा बार्सिलोनाले आइतबार राति भ्यालेन्सियालाई ६–० ले पराजित गरेको छ ।

बार्सिलोनाका लागि राफिन्हा, रोवर्ट लेवान्डोस्की र फर्मिन लोपेजले दुई–दुई गोल गर्नुभयो ।  राफिन्हा र लेवान्डोस्कीले स्थानापन्न खेलाडीको रुपमा मैदान आएर पनि दुई–दुई गोल गर्न सफल हुनुभएको हो ।

प्रमुख खेलाडी लामिने यामालको अनुपस्थितिमा पनि बार्सेलोनाले सहज जीत हात पारेको हो । बार्सिलोनाको यो चार खेलमा तेस्रो जीत भएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना दुई अंकले मात्र पछाडि छ ।

अन्य खेलमा रियल बेटिस र लाभान्तेले २–२ ले तथा सेल्टा भिगो र गिरोनाले १–१ को बराबरीमा खेले । रियल बेटिसले सुरुको दस मिनेटमै दुई गोलले अग्रता बनाएर पनि जित हासिल गर्न नसकेको हो। इसैगरी ओसासुनाले रायो भालेकानोलाई २–० ले हरायो ।