वीरगञ्ज महानगरमा ‘जेनजी आन्दोलन’का क्रममा १ अर्ब १५ करोड रुपियाँभन्दा बढीको क्षति

काठमाडौँ, भदौ ३१ । हालै भएको ‘जेनजी आन्दोलन’का क्रममा भएको तोडफोड र आगजनीका कारण वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपियाँ बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र सवारीसाधन जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूमा भएको क्षतिको विवरण भने अझै सङ्कलन भइरहेको छ । सम्पूर्ण क्षतिको विवरण सङ्कलन हुँदा कुल १ अर्ब ५० करोड रुपियाँ बराबरको क्षतिअनुमान गरिएको छ । महानगरका अनुसार, महानगर कार्यालयपरिसरभित्र तीनवटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने अन्य तीनवटा भवनमा आंशिक क्षति पुगेको छ । यसैगरी, १७ वटा चारपाङ्ग्रे सवारीसाधन, नौवटा दुईपाङ्ग्रे सवारीसाधन र दुईवटा रिक्सामा समेत क्षति पुगेको छ ।

वीरगञ्ज महानगरको आज बसेको कार्यपालिका बैठकले हालैको ‘जेनजी आन्दोलन’का क्रममा सहादत प्राप्त गरेकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गरी त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनभित्रै विशेष अधिवेशन बोलाउने तयारी गरिएको छ । आगलागीबाट कार्यालयका महत्त्वपूर्ण कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्रीहरू जलेर नष्ट भएका थिए । प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान सङ्कलन गरिरहेको जनाएको छ ।

बैठकले हालैको आन्दोलन वास्तविक ‘जेनजी’का प्रदर्शनकारीहरूद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, ‘जेनजी’ युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताउनुभयो । नगर परिषद्को बैठकले हालको असामान्य परिस्थितिमा वीरगञ्जलाई फेरि सञ्चालन गर्न र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।