जेनजी आन्दोलनकारीले काठमाडौंबाट लुटेका पेस्तोल र गोलीसहित कैलालीबाट चार जना पक्राउ

कैलाली । जेनजी आन्दोलनका क्रममा आन्दाेलनकारीहररूले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएको हतियार कैलालीमा भेटिएकाे छ ।

विशेष सूचनाको आधारमा उपत्यका अपराध महाशाखाको टाेलीले हतियार लुकाएर राखेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का, १९ वर्षीय आभाष चन्द र गौरीगंगा नगरपालिका–३ का २० वर्षीय जिबेश सापकोटा रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो।