मध्यपुर थिमिमा ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न : ‘कुभिण्डो’ मार हान्ने परम्परा

काठमाडौँ, असोज १७ ।  मध्यपुर थिमि-७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष मोहनी नखः (दशैं) को चालँ अर्थात् विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार यस वर्ष पनि बिहीबार राति यो जात्रा निकालिएको हो । नगदेशमा रहेको मल्लकालीन दरबारबाट ‘खाँ’ निकालिएको थियो। यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ ।

दरबारबाट पमा नायो (प्रधान नाइके) को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू निस्केका थिए। उनीहरूले टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेका थिए र युद्ध कौशल पनि प्रदर्शन गरेका थिए । सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लैजाने प्रचलन रहेको छ।

जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *