विराटनगर किङसले घोषणा गर्यो ‘ड्रिम टु प्ले’
काठमाडौँ, २४ असोज । विराटनगर किङसले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “ड्रिम टु प्ले” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ ।
कोशी प्रदेशका पाँच जिल्ला झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका यु–२३ टोली सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी संरचनमा खेलाइनेछ । प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन दुई खेल हुने आयोजकले जानकारी दिएको छ ।
विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ ।
चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयन हुने खेलाडीहरूले किंङ्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन् । साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किङससको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन् ।
नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ ।
विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवद्र्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।