पछिल्ला ३ नेपाली चलचित्रको व्यापार उत्साहजनक
काठमाडौँ, असोज २५ । दसैँको अवसरमा असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार असोज २३ गते मध्य रातिसम्मको तथ्याङ्कअनुसार सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’ले चार करोड ४२ लाख रुपियाँको व्यापार गरेको छ । यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा मुख्य भूमिकामा हुनुहुन्छ ।
त्यसैगरी, अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले तीन करोड ९० लाख रुपियाँको व्यापार गरेको छ । दीपेन्द्रकुमार खनाल निर्देशित यस चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
फूलपातीकै अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले पनि दुई करोड ८५ लाख रुपियाँको व्यापार गर्न सफल भएको छ । रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतको अभिनय रहेको छ ।