महिला एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले सर्वाधिक रन पछ्यायो
नयाँ दिल्ली, २७ असोज । अस्ट्रेलियाले महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा बढी रन पछ्याएको छ । विश्वकप महिला क्रिकेटअन्तर्गत आइतबार राति अस्ट्रेलियाले ३३१ रन पछ्याएर भारतलाई हराएको हो ।
एलिसा हेलीले १०७ बलमा २१ चौका र तीन छक्कासहित १४२ रन बनाएपछि अस्ट्रेलियाले भारतलाई एक ओभर बाँकी छँदै तीन विकेटले हरायो । गत विजेता अस्ट्रृेलिया लगातार चार जितसँगै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । भारतले चार खेलमा दुई जित र दुई हार वेहोरेको छ ।
पहिले ब्याटिङ गरेको घरेलु टिम भारत ४८.५ ओभरमा ३३० रनमा अलआउटभ भएको थियो । अस्ट्रेलियाले सात विकेटको क्षतिमा ३३१ रन बनायो । अस्ट्रेलियाकी एलिसे पेरी ४७ रनमा अवजित रहिन् । उनले छक्का प्रहार गर्दै खेल समाप्त पारिन् ।
यसअघि भारतको पालमा स्मृति मन्डानाले ६६ बलमा नौ चौका र तीन छक्कासहित सर्वाधिक ८० रन बनाएकी थिइन् । यसैगरी अर्की प्रारम्भिक ब्याटर प्रतिका रावलले ९६ बलमा ७५ रनको पाल खेलन् । भारतले ३६ रनमै अन्तिम छ विकेट गुमाएको थियो । अस्ट्रेलियाककी अनाबेल सुथरल्यान्डले ४० रन खर्चेर पाँच विकेट लिइन् ।
एपी