अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
अर्घाखाँची, ३० असोज । गुल्मीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनारको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार, मृत्यु हुने दुवै जना मोटरसाइकल चालक थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले दिएको जानकारीअनुसार, गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।