एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी, राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।

ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बसिरहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिएका हुन्।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, आजसम्म ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखिसकेका छन्। बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

प्रचार विभाग प्रमुख गौतमका अनुसार, बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ। उहाँले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्ने जानकारी दिनुभयो।

पदाधिकारीहरूको धारणापश्चात् अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यसूची रहेको गौतमले बताए।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले ‘जेनजी’ प्रदर्शनपछिको मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको ११औँ महाधिवेशनको तयारी, पार्टीमा सुशासनका पक्षमा र संगठन सुदृढीकरणलगायतका विषयमा आफ्ना धारणा राखिरहेका छन्। आज बोल्न बाँकी केन्द्रीय सदस्यहरूले भोलि (शुक्रबार) धारणा राख्नेछन्। बैठक अहिले पनि जारी छ।